Friday, March 16, 2012
जनसम्पर्क समिति पोर्चुगलको आसन्न दोश्रो महाधिवेशन र भावी नेतृत्वका चुनौतिहरु। -भीम के सी कमल
चार बर्ष अघि जनसम्पर्क युरोप समन्वय समितिका अध्यक्ष दिल गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न नेपाली जनसम्पर्क समिति पोर्चुगलको प्रथम अधिवेशन पश्चात लिस्बनको छेउमा बग्ने रियो तेजो (तेजो नदी) मा धेरै पानी बगि सकेको छ। जनसम्पर्क समिति पोर्चुगलका तत्कालिन बिधान मस्यौदा समिति-२००७ का संयोजक राजेन्द्र अधिकारीको संयोजकत्वमा रहेको समितिले प्रस्ताबित गरि जनसम्पर्क समिति पोर्चुगलको प्रथम अधिवेशनबाट पारित समितिको बिधान २००७ को धारा ९ उपधारा २ मा भएको ब्यबस्था अनुसार प्रत्येक २ बर्षमा समितिको नियमित अधिवेशन हुनु पर्नेमा केन्द्रीय प्रतिनिधिको अनुपस्थिति लगायतका बिबिध कारणहरुले समितिको अधिवेशन तोकिदै सर्दै आएको छ।
गैर आवाशिय नेपाली संघ पोर्चुगल पश्चात सबभन्दा धेरै साधारण सदश्य रहेको र नेपालको लोकतान्त्रीक आन्दोलनको सफल नेतृत्वकर्ता नेपाली काँग्रेसको भातृ संगठनको रुपमा कार्यरत जनसम्पर्क समितिले आफ्नो संगठन सुदृढिकरण अभियानलाई यथोचित सकृयता दिन नसक्नुलाई द्वन्दात्मक रुपमा बिश्लेषण गर्दै आगामि दिनहरुमा भावी नेतृत्वले संगठन निर्माण र बिकासका सैद्धान्तिक र ब्यबहारिक सिद्धान्तहरुलाई आत्मसात गर्दै सामुहिक नेतृत्वमा गतिशिल संगठनको रुपमा जनसम्पर्क समितिलाई अगाडि बढाउनु पर्ने आवश्यकतालाई नकार्न सकिदैन।
संक्षेपमा सर्बसम्मति अथवा निर्बाचनको माध्यमबाट छनौट हुने जनसम्पर्क समितिको भावी नेतृत्वका चुनौति एबम् उत्तरदायित्वहरुलाई यसप्रकार उल्लेख गर्न सकिन्छ।
(१) समर्थक पहिचान, सदश्यता बिस्तार र संगठन सुदृढिकरण:
५००० भन्दा बढिको संख्यामा बसोबास गर्ने नेपालीहरुमद्धे अधिकांश लोकतन्त्रबादी र जनसम्पर्क समितिका शुभचिन्तक रहेको, कतिपय साथिहरु पार्टी र बिध्यार्थी संघका जिम्मेबार पदमा रहेर संगठनको लामो अनुभब भएका समेत हुन सक्ने हुदा समर्थकहरुको पहिचान गरी त्रैमासिक वा अर्धबार्षिक रुपमा सदश्यता अभियान संचालन गरी संगठन सुदृढिकरण गर्ने।
(२) सदश्यहरु बीच नियमित अन्तरकृया र समस्या सहजिकरण डेस्कको स्थापना:
साधारण सदश्य, कृयाशिल सदश्य तथा कार्यसमितिका पदाधिकारी र अगुवाहरुबीच आत्मियता र अपनत्वको बिकास गर्न द्वैमासिक रुपमा नियमित भेटघाट अथवा अन्तरकृयाको आयोजना गर्नुको साथै अध्यागमन, बसोबास र रोजगारी सम्बन्धी समस्या समाधानार्थ सार्थक पहल गर्न अध्यागमन एबम् बसोबास र रोजगारी सहजीकरण डेस्क खडा गरी सेवा उपलब्ध गराउने।
(३) केन्द्रसंगको सम्बन्ध र अन्तरराष्ट्रीय मन्चमा सबल उपस्थिति:
युरोप वा विश्वस्तरीय भेलामा सहभागिता जनाई कार्यपत्रहरु प्रस्तुत गर्ने, संगठन बिस्तार र राष्ट्र निर्माण सहितका बिषयहरुमा ठोस सुझाब र तर्कहरु पेश गर्ने साथै पार्टी केन्द्रसंग नियमित सम्पर्कमा रहि केन्द्रबाट संचालन हुने कार्यक्रम, अभियान र आन्दोलनहरुलाई सदैब हातेमालो गर्ने।
(४) कार्यालय स्थापना तथा संस्थाको दिगोपनाको निम्ति श्रोत पहिचान र परिचालन:
कुनै पनि संगठन प्रभावकारी हुन त्यसको दिगोपनाको निम्ती आर्थिक एबम् अन्य भौतिक साधनको जरुरी हुन्छ। संगठनलाई झोलामा राखेर हिड्ने प्रबृतीले संगठन कमजोर भइ बैरीहरु मखलेल् हुने अबस्था सिर्जना हुन्छ। संस्थाको दिगोपनाको निम्ती संभब भए संस्थाको कार्यालय सो नभएमा नियमित सम्पर्क केन्द्र स्थापना गरी कम्प्युटर, प्रीन्टर, स्क्यानर, फोटोकपी लगायत आवश्यक भौतिक साधन तथा संस्थाको अक्षयकोष स्थापना गरी आवश्यक न्युनतम राशिको संकलन र डिपोजिटको अनिबार्य ब्यबस्था गर्ने।
(५) समावेशीकरण, कृयाशिलता र समन्वय:
जातीय, क्षेत्रीय, लैंगीक तथा भौगोलिक क्षेत्र समेटेर बनेको समानुपातिक रुपमा समावेशी प्रतिनिधित्व सहितको कार्यकारिणि समितिले मात्र संगठनलाई प्रभाबकारी बनाउन सक्दछ। त्यसका लागि साधारण सदश्यता बितरण देखि नै बिचार पुर्याउदै जानु पर्ने हुन्छ। साथै चुनाबको बेला र उच्च नेतृत्वको आगमनमा मात्र सकृयता देखिने र बाँकि अबधि सुस्ताउने प्रबृतिले संस्थालाई दिनानुदिन कमजोर बनाउदै जान्छ। त्यसैले हरदम कृयाशिल रहि कार्यसमिति र सुभेच्छुक बीच, संगठन र अन्य संगठन बीच, केन्द्र र समाज बीच प्रभाबकारी समन्वय गरी अगाडी बढने इच्छाशक्ति आगामी नेतृत्वमा हुनु अपरिहार्य देखिन्छ।
(६) सकृय सदश्यता बिस्तार र केन्द्रीय महाधिवेशनमा सहभागिता:
नेपाली काँग्रेसको संशोधित बिधान अनुसार न्युनतम ५०० कृयाशिल सदश्य भएका देशहरुको जनसम्पर्क समितिलाई महाधिवेशनमा सहभागी गराउने ब्यबस्था अनुरुप महाधिवेशनमा प्रतिनिधित्व गर्न नेकाँको आगामी महाधिवेशन अगाबै कम्तिमा ५०० कृयाशिल सदश्य संख्या पुर्याइ उक्त महाधिवेशनमा आधिकारिक प्रतिनिधित्व सुनिश्चित गर्ने।
(७) बिबिध:
उल्लेखित कुराहरुको अतिरिक्त लोकतान्त्रीक आन्दोलन सम्बद्ध बिभिन्न दिवस, जयन्ती मनाउने कार्यहरु, उच्च नेतृत्वमा रहेका ब्यक्तिहरुलाई आमन्त्रण गरी समसामयिक बिषयहरुमा अन्तरकृया र छलफल गर्ने, राष्ट्रीय तथा अन्तरराष्ट्रीय मेडियाहरुमा लेख रचनाहरु प्रकाशित गर्ने गराउने, पोर्चुगलमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुमा समितिको तर्फबाट सकृय सहभागिता र प्रभाबकारी प्रस्तुतिकरण गर्ने, बर्तमान युगको माग अनुसार सामाजिक संजालहरुमा सशक्त उपस्थिति जनाउने तथा समितिको वेब-साइट निर्माण गर्ने लगायतका अन्य थप बन्दोबस्ति चुनौतिहरुको समेत भावी कार्य समितिले जिम्मेवारीपुर्बक सामना गर्नु पर्ने देखिन्छ।
(लेखक जनसम्पर्क युरोप समन्वय समितिका सदश्य तथा पत्रकार हुन।)
Subscribe to:
Comments (Atom)